
काठमाडौं, ४ वैशाख । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरूको संग्रह ‘नेपाल किन बनेन ?’ शीर्षकको पुस्तक आज सार्वजनिक भएको छ ।
स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जो २०७५ साल मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको बताइएको छ ।
कामना समूहका संस्थापक श्रेष्ठको तेस्रो वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवका उपलक्ष्यमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो ।
यात्रा संस्मरणमा उहाँले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूतिहरू समेट्नुभएको थियो भने ‘नेपाल किन बनेन ?’ ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।
कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरूको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो । पुस्तकका सम्बन्धमा प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ भन्छन्, ‘नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवर्द्धनका लागि मेरा ड्याडीले एक प्रकारले हामी परिवारका सदस्यलाई नै बिर्सेर जीवन सुम्पनुभएको हो । उहाँका आलेखहरूमा सत्यता र निर्भीक विश्लेषण तथा देशप्रतिको चिन्ता र माया देखेर नै मैले पुस्तकका रुपमा प्रकाशित गर्न आवश्यक ठानेको हुँ ।’ किताबमा प्रकाशक श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख पनि समावेश गरेका छन् ।
नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुने विश्वास समेत गरिएको छ । उक्त किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता बन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल तथा देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आसाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणाहरू पनि समेटिएका छन् ।
२०७६ वैशाख ४ गते ६१ वर्षको अल्पायुमै दिवंगत भएका श्रेष्ठ नेपालमा व्यावसायिक विकासका संस्थापक मानिन्छन् । मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि उनको जीवन बुझ्नका निम्ति पनि यो पुस्तक सहायक हुने छ ।
कुल ३०० पृष्ठको पेपर ब्याकमा प्रकाशित ‘नेपाल किन बनेन’ किताब मात्र रु. ६०० मा प्राप्त गर्न सकिन्छ । अनलाइनबाट पनि पुस्तक खरीद गर्न सकिने बताइएको छ ।















प्रतिक्रिया