७ कार्तिक २०८३, शनिबार

एमाले खाली चुनावको वर्षायाम पर्खिराखेको छ, ढुंगाको काप फोडेर सरकारमा आउँछः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र ध्वस्त बन्न लागेको टिप्पणी गरेका छन् ।

आइतबार एमाले निकट शिक्षक संगठनको कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष ओलीले नेपालको आर्थिक स्थिति बिग्रिएर श्रीलंकाको जस्तो बन्न लागेको बताए ।

उनले अब सरकारले तलब तथा सामाजिक सुरक्षा भत्ता दिन नसक्ने अवस्था आउने दावी गरे ।

‘यो नेपालका लागि अनिष्टको समय हो,’ ओलीले भने, ‘एमालेका लागि होइन देशका लागि । अहिले देशको अर्थतन्त्र हेनुहोस् त श्रीलंका बन्दै छ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्नुहोला । दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिदै छन् ।’

देश यस्तो अवस्थामा हुँदा पनि गठबन्धनका दलहरु खुशी भएको ओलीको भनाइ छ । ‘त्यो गठबन्धनमा लागेका त खुसी नै होलान,’ उनले भने, ‘देश यस्तो अवस्थामा जाँदा पनि खुसी छन् एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर ।’

उनले एमालेलाई धेरै दिन सरकार बाहिर राख्ने नसक्ने बताए ।

‘कति दिन राख्न सकिन्छ एमालेलाई बाहिर ?, ओलीको भनाइ छ, ‘ढुंगाको काप फोडेर पनि उम्रिन्छ पीपल । नेकपा एमाले खाली यो चुनावको वर्षायाम पर्खिराखेको छ । चुनाव आयो कि त ढुंगाको काप फोडेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’