१२ कार्तिक २०८३, बिहिबार

टाइफाइडविरुद्धको खोपका लागि कामपामा मात्रै ६०० खोप केन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २४ चैत । शुक्रबारदेखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौँ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ ।

कामपाको शिक्षा विभागले सूचना जारी गर्दै यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।

कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको अधिकारी सुवेदीले बताउनुभयो ।

कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरिने बताइएको छ । खोप कार्यक्रम सञ्चालन गर्नका लागि शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी खटिनेछन् ।

अभियानको शुभारम्भ आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले गरिसक्नुभएको छ । यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताइएको छ ।

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ । –रासस