
मस्को, १६ चैत । टर्कीमा भएको शान्ति वार्तापछि रुसले उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ‘ठूलो मात्रामा’ कटौती गर्ने बताएको छ ।
रुसका उपरक्षामन्त्रीले ‘आपसी विश्वास बढाउनका लागि’ त्यस्तो कदम चाल्न लागिएको बताएका छन् । यसलाई रुस र युक्रेनबीचको शान्तिवार्तामा २४ फेब्रुअरीदेखि आरम्भ भएको युक्रेनविरुद्धको रुसी अतिक्रमण यता देखिएको प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताको प्रारम्भिक सङ्केत सकारात्मक देखिएको बताएका छन् । तर, त्यस्तो बैठकबाट प्राप्त हुने ठोस नतिजालाई मात्र किएभले विश्वास गर्नेमा जोड दिएका छन् ।
पश्चिमा नेताहरूले पनि रुसको प्रतिबद्धताहरूमाथि शङ्का व्यक्त गरेको बीबीसीले जनाएको छ । संयुक्त राज्य अमेरिकाले मस्को गम्भीर छ भन्ने कुरामा अझै विश्वस्त हुन बाँकी नै रहेको बताएको छ भने ब्रिटेनले रुसलाई उसको बोलीको आधारमा नभई कामको आधारमा मूल्याङ्कन गरिने बताएको छ ।















प्रतिक्रिया