
काठमाडौं, १३ चैत । गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो ।
१ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन् । लेटाङ घटनाको १७ महिनाअघि पनि स्थानीयको आक्रमणबाट कैलालीको बिसुगार्ड गेटामा १ जना प्रहरीको मृत्यु भयो ।
२०७७ कात्तिकमा कैलालीको जुगडामा स्थानीयले धारिलो हतियार प्रयोग गरी प्रहरी जवान रामबहादुर साउदको हत्या गरे । श्रेष्ठ र साउद मात्र होइन, जनताको शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी जनताबाटै असुरक्षित हुने क्रम बढ्दै गएको छ। प्रहरीको तथ्याङ्कअनुसार बितेका ६ वर्षमा मात्र ११ जना सुरक्षाकर्मीले सर्वसाधारणको आक्रमणबाट ज्यान गुमाए । २०७२ सालदेखि २०७८ चैत पहिलो सातासम्ममा ११ जना प्रहरीको हत्या भएको प्रहरी मुख्यालयको रेकर्डमा उल्लेख छ । सेवा दिने क्रममा विभिन्न आन्दोलनमा जनताबाटै भएको आक्रमणमा परी प्रहरीले ज्यान गुमाइरहनुपरेको प्रहरी मुख्यालयको भनाइ छ ।
पछिल्ला ६ वर्षको मात्र तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष औसतमा २ जना प्रहरी जनताबाटै मारिएका छन्। यस अवधिमा कैलालीका जनताबाट सबैभन्दा बढी अर्थात् ८ जना प्रहरी मारिएको प्रहरी प्रधानकार्यालयको तथ्याङ्क छ। २०७२ सालमा भएको थरूहट आन्दोलनमा स्थानीयको आक्रमणबाट ६ जना प्रहरी मारिएको रेकर्ड छ भने २ जना कैलालीको सिमानामा मारिएका छन्। त्यसपछि दोस्रो नम्बरमा मोरङ जिल्ला परेको छ । जनताको आक्रमणबाट प्रहरी जवानदेखि एसएसपीसम्म मारिएको प्रहरी रेकर्ड छ । कैलालीमा २०७२ सालमा भएको झडपमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने मारिएको प्रहरी रेकर्ड छ।
स्थानीयको आक्रमण निशानामा सबैभन्दा बढी प्रहरी हवल्दार र जवान पर्ने गरेका प्रहरी तथ्याङ्कले देखाउँछ। पछिल्लो ६ वर्षको अवधिमा ३ जना प्रहरी हवल्दार र ४ जना प्रहरी जवान सर्वसाधारणबाट मारिएका प्रहरी अभिलेख छ। यसैगरी २ जना प्रहरी निरीक्षक र १ जना प्रहरी सहायक निरीक्षक पनि स्थानीय जनताको आक्रमणको शिकार बनेका प्रहरी तथ्याङ्कमा छ। ६ वर्षको अवधिमा १ हजार ४१० जना प्रहरी सर्वसाधारणको आक्रमणमा परेर घाइते भएका छन्।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ४९० जना, २०७३/०७४ मा ५४ जना, २०७४/०७५ मा ८३ जना, २०७५/०७६ मा १२८ जना, २०७६/०७७ मा ६१ जना, २०७७/०७८ मा २८० जना र चालू आर्थिक वर्षको चैतको पहिलो सातासम्ममा ३१४ जना प्रहरी स्थानीयको आक्रमणमा परी घाइते भएको प्रहरी मुख्यालयको अभिलेख छ, आजको द नेपालटप दैनिकमा अली अस्गर देवानले समाचार लेखेका छन् ।















प्रतिक्रिया