
काठमाडौं, ११ चैत। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीसँग महाधिवेशनमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई ‘डोमिनेशन’मा राखेका छन्।
सभापति निर्वाचित भएका दिनदेखि नै कोइरालाको अस्तित्वलाई देउवाले डोमिनेट गरेका हुन्। देउवाले कांग्रेसभित्रको वरियता कायम गर्दादेखि नै कोइरालाप्रति हेपाहा निर्णय गरेका हुन्।
स्वभाविक रुपमा प्रतिस्पर्धामा उत्रिएका नेताको वरियता सभापतिबाहेकका अन्य पदाधिकारीभन्दा माथि हुनुपर्नेमा कोइरालालाई २० औं नम्बरमा राखिएको छ।
कोइराला पक्षबाट जितेका उपसभापति, महामन्त्रीलगायत भन्दा पनि तल राखिएपछि कोइराला असन्तुष्ट थिए। कांग्रेसका नेता कार्यकर्ताले पनि देउवाको यस्तो विधिमाथि आश्चर्य जनाएका थिए।
‘बरिष्ठ नेतामा रामचन्द्र पौडेल राखिए पनि त्यसपछिको वरियतामा कोइरालालाई राख्नुपर्ने थियो। तर, प्रतिस्पर्धामा नै नआएका कतिपय नेतालाई माथि राखी कोइरालालाई हेपियो’, कांग्रेसका एक नेता भन्छन्।
देउवाले दोस्रो वरियतामा पौडेल, तेस्रोमा कृष्णप्रसाद सिटौला राखेका छन् भने उनलाई साथ दिएका प्रकाशमान सिंह, विमलेन्द्र निधिलाई कोइराला भन्दा माथि राखेका छन्।
पछिल्ला दिनमा पनि कांग्रेसभित्रका गतिविधिका विषयमा कोइरालासँग देउवाले कुनै परामर्श गरेका छैनन्। बरु, कोइरालालाई बालुवाटारमा भेट गर्न समेत छेकबार गरिएको विवरणमा आएका छन्।
देउवाभन्दा भिन्न मत राख्ने कोइराला आगामी निर्वाचनमा सत्ता गठबन्धन गरी जान नहुने धारणा राख्छन्। तर, देउवाले विहीबार मात्र उक्त धारणाको विपरित गठबन्धनमा जानुपर्ने बताएका थिए।
‘सहमति र सहकार्य नगरी कांग्रेसभित्र यस्तो व्यवाहार गरिएको खण्डमा ठूलो विद्रोह र चुनावमा असर हुनसक्छ’, कोइरालानिकट एक केन्द्रीय सदस्य भन्छन्,‘कांग्रेसले अपनाउने सहमति, सहकार्य र एकताको विधिमा सभापति देउवा हिँड्न आवश्यक देखियो।















प्रतिक्रिया