
वाशिङ्टन, ११ चैत । पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू अनि सम्पन्न देशहरूको समूह जी सेभेनको अभूतपूर्व शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रुसविरुद्ध एकता प्रदर्शन गरेका छन् ।
पुटिनले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन् । युक्रेनमा रुसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनको एक अभूतपूर्व दिनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरेका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका सामु उनीहरू एकताबद्ध भएको बताए । ब्रसल्समा ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी भएका थिए ।
युक्रेनलाई थप अस्त्र दिइने
उनीहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाए । साथै युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भए ।
ब्रिटेनले युक्रेनलाई दिने क्षेप्यास्त्रको सङ्ख्या दोबरले बढाउने बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै थप मद्दतका निम्ति आह्वान गरेका थिए । उनले ट्याङ्कहरू एवं लडाकू विमान माग गरे ।
तर बीबीसीकी उत्तर अमेरिका सम्पादक स्यारा स्मिथ भन्छिन् नेटो नेताहरूले चाहिँ युक्रेनमा नेटो फौज परिचालन गरिए त्यसले सङ्कट झन् चर्कने र विश्वयुद्धको खतरा बढ्ने आफ्ना भनाइ दोहोर्याए । बीबीसीबाट















प्रतिक्रिया