
काठमाडौं, ११ चैत । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ यही चैत २५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनका लागि डीएआर मुभिजले टुँडिखेल मैदानमा चैत २५ गतदेखि ३० गतेसम्म हुने ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना गर्न लागेको हो ।
उक्त मेलालाई प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेलाका रूपमा आयोजना गर्न लागिएको डीएआर मुभिजले जानकारी दिएको छ । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।
आयोजक संस्था डीएआर मुभिजले यसअघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
यस पटक आयोजना गरिने मेलालाई १० लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिको अपेक्षा छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।
विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहने छ । प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाख संगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङ्गको प्रस्तुति रहने छ ।















प्रतिक्रिया