
काठमाडौं, ११ चैत। स्थानीय चुनावमा एमालेविरूद्ध सत्ता गठबन्धन हुने या नहुने भन्नेमा सशंकित रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रशिक्षणहरूमा भन्ने गरेका थिए,‘माओवादी एक्लै चुनावमा जानुपर्छ।’
नेपाली कांग्रेसका नेताहरूले गठबन्धन नगर्ने बताइरहेका बेला प्रचण्ड यसलाई कसरी जोगाउने भन्ने बाटो खोजिरहेका थिए। सत्ता गठबन्धन तयार पारी एमालेलाई सरकारबाट हटाउनका लागि प्रचण्डले जुन बाटो रोजेका थिए, चुनावसम्म पुग्न पनि त्यहि उपायलाई प्रयोग गरेको खुलासा भएको छ।
प्रचण्डले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणामार्फत गठबन्धन चुनावसम्म नै कायम राख्नका लागि लविङ गरेका हुन्। उच्च स्रोतका अनुसार बालुवाटार पुगेका प्रचण्डले केही दिनअघि मात्र राणासहित देउवासँग बसेर गठबन्धन जोगाएर बहुमत ल्याए फेरि प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन्।
‘गठबन्धनको बहुमत आउने र सोहीअनुसार फेरि प्रधानमन्त्री बनाउनका लागि देउवालाई प्रस्ताव गरेपछि कांग्रेस सकारात्मक हुने प्रचण्डको सोचाई छ’, उच्च स्रोतले भन्यो,‘सोही प्रस्ताव गरेका कारण सत्ता गठबन्धन चुनावमा जाने तयारी भएको छ।’
कांग्रेस एक्लै चुनावी मैदानमा जाने चर्चा चलिरहेका बेला कैलाली पुगेर प्रधानमन्त्रीपत्नी राणाले गठबन्धन नै चुनावमा जाने खुलासा गरेकी थिइन्। राणाको उक्त भनाई आउनासाथ प्रधानमन्त्री देउवाले पनि उक्त घोषणा गरेका थिए।
तर, कांग्रेसभित्र पनि यस विषयले रडाको मच्चाएको छ। शुक्रबार केन्द्रीय समितिको बैठकमा सत्ता गठबन्धन गरी चुनावमा जाने या नजाने भन्ने विषयमा आधिकारिक निर्णय हुनेछ।















प्रतिक्रिया