
काठमाडौं, १० चैत । यही चैत १८ गते प्रदर्शन हुने चलचित्र ‘हेल्लो जिन्दगी’ मा समावेश ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीत मंगलबार राजधानी आयोजित प्रेसमिटमा प्रदर्शन गरिएको हो । गीतमा अभिनेता बिक्रम डी जोशी र दीपीका प्रसाईं फिचर्ड छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् ।
प्रेसमिटमा निर्देशक बोहराले चलचित्रका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुःखाए । ‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने, ‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन । निर्देशक बोहराले नायिकाहरुले न्यूनतम व्यवसायिक धर्म पनि निर्वाह नगरे पनि आफूहरु बिचलित नभएको, बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्नुपर्ने भएको छ ।’
कार्यक्रममा चलचित्रकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास लिएको बताइन् । अभिनेता बिक्रमले आफूहरुले गुणस्तरीय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । उनले भने, ‘हाम्रो फिल्ममा नेपाल, भारत र युके, तीन देशका प्राबिधिकको मिहीनेत परेको छ । दर्शकसामु उच्च कोटीको फिल्म प्रस्तुत गर्नका लागि हामीले अत्यन्तै मिहीनेत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा विश्वस्त छु ।’
अभिनेता बिक्रम, निर्देशक बोहरा र नवअभिनेत्री बिभिया यही फिल्मको प्रमोशनका लागि केही दिनअघि मात्रै बेलायतबाट काठमाडौं झरेका हुन् । कार्यक्रममा फिल्मकी सहनिर्मात्री तथा अभिनेत्री सबिता गुरुङले आफूहरुले यो चलचित्र पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताइन् ।
नवअभिनेत्री बिभियाले फिल्म निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गरिन् । आइएनएस हल,गोंगबुमा आयोजीत कार्यक्रममा फिल्ममा समाबेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।
बेलायत र काठमाडौंमा खिचिएको फिल्ममा विक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, बिभिया श्रेष्ठ, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा डी क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । सुदीप कुँवर र मार्लाेभ ढुंगाना मुख्य सहायक निर्देशक रहेको चलचित्रको कथा निर्देशक बोहरा र बिक्रम डी जोशीको हो भने पटकथा, सम्वाद निर्देशक बोहरासहित अभिमन्यु निरवीले तयार पारेका हुन् ।
पुरुषोत्तम प्रधानले खिचेका चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।















प्रतिक्रिया