
काठमाडौं, १० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धन कमजोर भएको निष्कर्ष निकालेका छन् ।
कमजोर भएकै कारण स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध गठबन्धन गर्नेबारे बहस भइरहेको रूपमा उनले अथ्र्याए । गठबन्धन सामाथ्र्यको प्रतीक नभएको बरु कमजोरीको द्योतक भएको ओलीको टिप्पणी छ ।
बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले गठबन्धनका २ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई ‘खुट्टा कमजोर’ भएका दलको रूपमा व्याख्या पनि गरेका छन् । कमजोर भएकै कारण २ दललाई बैसाखीको सहारा चाहिने भएको बताए ।
‘हामी स्पष्ट हुनुपर्छ, गठबन्धन या मोर्चा सामथ्र्यको प्रतीक होइन, कमजोरीको द्योतक हो । बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन्’, ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध १ फागुनमा सत्तारूढ गठबन्धनले संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘अनैतिक र दूषित मनशाय’ पनि भनेका छन् । उनका अनुसार महाअभियोग प्रस्ताव सत्ता स्वार्थमा आधारित छ ।
यसअघि गठबन्धनको स्वार्थ पूरा भएको र हाल भने महाअभियोग प्रस्तावमार्फत प्रधानन्यायाधीश जबरालाई मानमर्दन, अपमान र आक्रमण गरेको ओलीले प्रतिवेदनमा लेखेका छन् । जबराविरुद्धको महाअभियोगलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रकरणसँग उनले दाँजे । यस्तै, सत्तारुढ गठबन्धनले कानुनको संवेदनशील व्यवस्थाहरूको दुरूपयोग गरेको भएको बताए ।
प्रतिवेदनमार्फत उनले निर्वाचन आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता- २०७८ मा उल्लेखित जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा दिनुपर्ने व्यवस्थाको खण्डन पनि गरेका छन् । त्यस्तो व्यवस्था बाध्यकारी राखिनु विभेदपूर्ण र विरोधाभाषी भएको बताए।
उनका अनुसार स्थानीय तहमा रिक्तताको परिकल्पना संविधानले गरेको छैन । निर्वाचन आचारसंहिताविरुद्धको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरकालीन आदेश दिएको पृष्ठभूमिमा प्रतिवेदनमार्फत् अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
‘अझ महत्वपूर्ण कुरा, संविधान र स्थानीय तह निर्वाचन ऐनले कार्यकारी, विधायिकी र न्यायिक गरी ३ वटै भूमिका खेल्ने स्थानीय तहमा रिक्तताको परिकल्पनै गरेको छैन’, राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ओलीले राजीनामा दिएर मात्र जनप्रतिनिधि उम्मेदवार बन्न पाउने भन्ने व्यवस्थालाई अनुचित र अनपयुक्त पनि भनेका छन्, आजको द नेपालटप दैनिकमा जंग तामाङले समाचार लेखेका छन् ।















प्रतिक्रिया