
काठमाडौँ, ९ चैत । श्रीलंकामा तेलको अभाव भएर हजारौं गाडी पेट्रोल पम्पमा लाइन लाग्न थालेपछि व्यवस्था कायम गर्न सेना खटाइएको छ । विगत ७० वर्षमा सबभन्दा खराब आर्थिक संकटमा परेको श्रीलंकामा विद्युत् आपूर्ति काटिएको छ भने खाद्यान्न र खाना पकाउने ग्यासको समेत अभाव छ ।
आक्रोशित भीडले राजधानी कोलम्बोको प्रमुख सडक रोकेपछि सेना तैनाथ गरिएको हो । मट्टितेल किन्न नपाएपछि रिसाएका मानिसले सडकमा धर्ना दिएर आवागमन अवरुद्ध गरेका थिए ।
तेलको लाइन बस्दा लाइन मिचेको भन्दै एकजना व्यक्तिले अर्कालाई चक्कु प्रहार गरेर हत्या गरेपछि सेना तैनाथ गर्नुपर्ने स्थिति आएको हो । ‘लाइन लम्बिँदै गएपछि मानिसहरू रिसाउन थालेका छन्,’ श्रीलंकाका एक शीर्ष रक्षा अधिकारीले नाम नखुलाउने शर्तमा एएफपी समाचार संस्थालाई बताए ।
‘प्रहरीलाई सहयोगका लागि सेना बोलाउने निर्णय लिइएको छ । दंगा हुन नदिन यसो गरिएको हो ।’ शनिवारदेखि अहिलेसम्म तेलको लाइनमा बस्दा तीनजना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।- एजेन्सी















प्रतिक्रिया