१३ कार्तिक २०८३, शुक्रबार

महिलालाई स्वरोजगार बनाउँदै जुम्ला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, ८ चैत । सीप र आर्थिक अभावका कारण बेरोजगार भइरहेका जुम्लाका तिला गाउँपालिकाका महिलाहरू पछिल्लो समय उत्साहित देखिएका छन् ।

इच्छाशक्ति भए पनि आर्थिक अभावका कारण परिवार चलाउन धौ–धौ भएका यहाँका महिलालाई गाउँपालिकाले स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिएपछि उनीहरु उत्साहित देखिएका हुन् ।

तिला गाउँपालिका–२ का मेचीनगर १३ तारा परियारले अब यो सीपलाई दीर्घकालीन बनाउने सोच बनाएको बताउनुभयो । “अहिले गाउँमै सिलाइकटाइको काम गर्दै आएको छु”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट प्राप्त सिलाइकटाइ तालिमले अहिले स्वरोजगार बनाएको छ । अब यसलाई व्यावसायिक रुपमा आगाडि बढाउने योजनामा लागेको छु ।”

सिलाइकटाइले आफूलाई गाउँमै आर्थिकरुपमा आत्मनिर्भर बनाएको उहाँको भनाइ छ । तालिम लिएपछि अहिले दौरा, सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज र बालबालिकाका कपडा सिलाउने गरेको उहाँले बताउनुभयो ।

सिलाइकटाइ सम्बन्धी थप पुर्नताजगी तालिम लिने गरेको उहाँले गाउँमै नयाँनयाँ डिजाइनका कपडा सिलाएर पनि राम्रो आम्दानी गर्न सफल भएको बताउनुभयो । “राम्रो आम्दानी हुने भएपछि यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य लिएका छौं”, ताराले भन्नुभयो, “गाउँमा अहिले सिलाइकटाइको राम्रो व्यपार छ, राम्रो डिजाइनमा लुगा सिलाउन सके सिलाइकटाइबाट स्वरोजगार बन्न सकिन्छ ।”

आर्थिक अवस्था न्यून भएका कारण तनावमा रहेका यहाँका महिलालाई गाउँपालिकाले तालिम दिएर दक्ष बनाउने प्रयास गरेकोमा उनीहरु हर्षित देखिएको छ । आकर्षक डिजाइनको कपडा सिलाउनका लागि सिलाइकटाइ तालिम लिएको तिला–१ राराका सपुरा परियारले बताउनुभयो । गाउँमै सेवा दिएर आम्दानी गर्न सिलाइकटाइ तालिम लिएको उनीहरु बताउँछन् ।

सीपले जीविकोपार्जनमा सहच गर्ने भएकाले गाउँपालिकाले प्रत्यक्षरुपमा राहत पुग्ने कार्यक्रमलाई जोड दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । यहाँका महिलादेखि युवालाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिमको खाँचो रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताउनुभयो ।–रासस