७ कार्तिक २०८३, शनिबार

एमालेसँग तालमेलको ढोका बन्द गरेका छैनौं : माओवादी नेता पुन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ३ चैत । माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आफूहरुले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्।

पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनान आवद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरुको रहेको बताए।

‘सत्ता गठबन्धनका दलहरुबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोकाबन्द छैन।’ यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको भनाइ थियो।

‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने। उनले बहुमत स्थानीय तह जितेका काँग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्तभएको आरोप लगाए।

तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य कामभएको उनको भनाइ थियो। कार्य सम्पादनमा उत्कृष्ट पाँच पालिका मध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए।

‘देशभर उत्कृष्ट ठहरिएका पाँचमध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ’, उनले भने। माओवादीले जितेका १ सय १६ वटै पालिकामा अन्य दलले जितेका भन्दा राम्रो काम भएको दाबी उनले गरे।

माओवादी लुम्बिनी अध्यक्षमा बराल

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल मगर चुनिएका छन्। पार्टीको बुधबार कपिलवस्तुमा बसेको प्रदेश समितिको पहिलो पूर्ण बैठकले बराललाई सर्वसम्मत अध्यक्षचयन गरेको हो।

यस्तै दुर्गा थारु र लुमाकान्त न्यौपाने उपाध्यक्ष, कृष्णअधिकारी सचिव, अक्कलबहादुर बम र काशीराम यादव सह–सचिव तथा पार्वती विक कोषाध्यक्ष चुनिएका छन्।