
मस्को, २ चैत । रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ ।
मङ्गलबार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेका थिए ।
युरोपेली सङ्घले सम्भावित सुरक्षा खतराहरूबारे चेतावनी दिए पछि उक्त यात्राको योजना पोल्याण्डले बनाएको बताइएको छ । ‘हामी तपाईँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ,’ भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेखे ।
‘हामीलाई थाहा छ तपाईँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईँहरू एक्लो हुनुहुन्न । हाम्रा देशहरू तपाईँका साथमा छन् ।’ पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन् ।
बीबीसीले प्रकाशित समाचार अनुसार मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन् ।
‘तपाईँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो,’ जेलेन्सकीले किएभ पुगेका नेताहरूको समूहलाई भनेको बताइएको छ । किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो ।
युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसेल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए ।
यसैबीच युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । बिहीबार रातीदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् ।
रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो ।
सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।















प्रतिक्रिया