१ कार्तिक २०८३, आइतबार

इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको म्यानचेस्टर सिटी बराबरीमा रोकियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसको मैदानमा म्यानचेस्टर सिटीले बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दबाब सृजना गरे पनि फिनिसिङमा चुक्दा सिटी बराबरीमा रोकिन बाध्य बन्यो ।

सेलह्रस्ट पार्कमा सोमबार राति भएको खेलको नवौं मिनेटमा रियाद महारेजको प्रयास बाहिरियो । २६औं मिनेटमा केभिन डी ब्रुएनको चलाखीपूर्ण फ्लिक पासमा क्यान्सेलोको प्रयासलाई क्रिस्टल प्यालेसका गोलरक्षक गुआइटाले विफल पारे ।

लगत्तै २७औं मिनेटमा जोओ क्यान्सेलोको झन्डै ३० यार्ड टाढाको प्रहार रिवाउन्ड हुँदा एमेरिक लोपोर्टाले प्रयास गरे पनि सफल हुन सकेन । ७०औं मिनेटमा ज्याक ग्रेलिस चुके । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीसँगै सिटीले शीर्षस्थानमा थप अग्रता बढाउने अवसर गुमाएको छ । सिटीको २९ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ ।

अब लिभरपुलले आफ्नो खेलमा सफलता हात पारे अंक दुरी १ मा छोट्याउने छ । क्रिस्टल प्यालेस ३४ अंक जोडेर ११औं स्थानमा रहेको छ ।