
काठमाडौँ, ३० फागुन । मृगौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंग दान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ ।
नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज हुनेछ ।
नेपालमा बढ्दो मृगौला रोगीको उपचार स्वदेशमै सम्भव भएपनि दाता नहुँदा धेरैले प्रत्यारोपको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्तबाहेकले मृगौला दान गर्न नपाउने कानून संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मृगौला रोगीका लागि वरदान सावित हुनेछ ।
विश्व मृगौला दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार अझै सहज हुने उनको भनाई छ ।
मृगौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा.डा. बालमान सिंह कार्की बताउँछन् ।
मृगौला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदान प्रति जनचेतना जगाउनु आवश्यक रहेको डा.दिव्या सिंह शाहले बताइन् ।
मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा.रोशन पोखरेलको भनाई छ ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले उपचार पद्धतिमा विज्ञान प्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए ।
उच्च रक्तचाप, मधुमेह जस्ता रोगका साथै तनाबग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतिपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मृगौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डाईलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन् ।












प्रतिक्रिया