२ कार्तिक २०८३, सोमबार

भारतीय मिसाइल पाकिस्तानमा खसेपछि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ३० फागुन । भारतीय मिसाइल ‘गल्ती’ले पाकिस्तानी क्षेत्रमा खसेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान आक्रोशित भएका छन्। प्रधानमन्त्री खानले सोमबार एक र्‍यालीलाई सम्बोधन गर्दै पाकिस्तानले चाह्‍यो भने जे पनि गर्न सक्ने भए पनि यस मामिलालाई संयमताका साथ सम्हालेको बताएका छन्।

पञ्‍जाब प्रान्तको हफीजावादमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले भने, ‘हामीलाई धम्कीहरु आइरहन्छन्। अहिले त हिन्दूस्तानको एक मिसाइल पनि आएको छ। पाकिस्तानले निकै सावधानीपूर्वक यसको जवाफ दिएको छ। तर, हामी चाहे भने जे पनि गर्न सक्थ्यौं।’

उनले थपे, ‘आज म तपाईंलाई भनिदिऊँ कि पाकिस्तान आफ्नो रक्षा गर्न सक्षम छ। अहिले पाकिस्तान सही बाटोमा अघि बढिरहेको छ।’

के हो मिसाइल प्रकरण?

भारतले शुक्रबार केही प्राविधिक खराबीका कारण ९ मार्चमा मिसाइल पाकिस्तानी क्षेत्रमा खसेको स्वीकार गरेको थियो। उक्त मिसाइल पाकिस्तानको मियाँ चन्‍नूमा खसेको हो। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का महानिर्देशक मेजर बाबर इफ्तिखारले १० मार्चमा एक पत्रकार सम्मेलनका क्रममा भने, ‘मियाँ चन्‍नूमा जुन तीव्र गतिमा उडेर खसेको थियो, त्यो सायद एक भारतीय मिसाइल हो।’

११ मार्चमा भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मिसाइल खसेको स्वीकार गरेको थियो। भारतीय रक्षा मन्त्रालयले एक जाँच समिति गठन गरी अनुसन्धानका लागि आदेश जारी गरेको छ। मन्त्रालयले थप भनेको छ, ‘नियमित परीक्षणका क्रममा प्राविधिक गडबडीका कारण मिसाइल गल्तीले फायर भएको हो।’

भारतले भन्‍यो– पाकिस्तानको प्रतिक्रिया तारिफयोग्य छ

भारतको सेन्टर फर पोलिसी रिसर्चका एक वरिष्ठ फेलो सुशान्त सिंहले भने, ‘कुनै पनि मुलुकको हवाई क्षेत्रमा प्रवेश गर्ने कुनै पनि चिजलाई हमला मान्‍ने गरिन्छ। रक्षा नियम र कानुनका अनुसार त झनै मिसाइल आएको अवस्थामा त जवाफी कारबाही गर्नुपर्छ। तर, पाकिस्तानले जवाफी फायर नगर्नु एक समझदारीका साथै समस्यालाई समाधान गर्न चाहेको देखिन्छ।’

उनले पाकिस्तानको प्रतिक्रिया तारिफयोग्य रहेको समेत बताएका छन्। उनले भने, ‘भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध छ। हालैको घटना र परमाणु क्षमतालाई हेर्ने हो भने पनि आकस्मिक मिसाइल खसेपछि दुबै मुलुकबीच संघर्ष हुन सक्थ्यो। त्यसलाई पाकिस्तानले रोकेको छ, जुन तारिफयोग्य छ।’ –बीबीसी