
काठमाडौँ, २६ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा मतपत्रमा हरियो रङको चिन्ह बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकार भएको दावी गरेको छ ।
आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बिहीबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको दावी गरे ।
उनले प्राविधिक कारणले यस्तो निर्णय गरेको बताउँदै २०७४ सालको चुनावमा प्रयोग भएको रङ निलो रहेको र स्वस्तिक छापको रङ पनि निलो भई रङमा एकरुपता भएकोमा परिवर्तन गरिएको उनले स्पष्ट पारे ।
उनले रातको समयमा बत्तीको प्रकाश मधुरो हुने, स्थानीय तहको चुनावमा कतिपय मतदाताले एकपटक स्वस्तिक छाप मसीमा चोपेपछि सातवटा चिन्हमा लगातार मतदान गर्दा अन्तिमतिरको चिन्हमा लगाएको स्वस्तिक छाप मधुरो हुने जस्ता समस्या देखिएका कारण स्वस्तिक र चुनाव चिन्हको रंगमा भिन्नता गर्नका लागि परिर्वतनको निर्णय गरिएको बताए ।
उनले भने– ‘मतगणनामा सहजता होस् भनेर हरियो रङको चुनाव चिन्ह राख्न लागिएको हो । कसैलाई यसमा केही प्रश्न छ भने आयोग प्रष्ट पार्न तयार छ ।’
अर्यालले भने– ‘मतपत्रको रङ कस्तो राख्ने, कस्तो डिजाइन गर्ने भन्ने अधिकार आयोगसँग छ । किन रङ परिवर्तन गरियो भन्ने कुरामा अन्यथा सोच्न आवश्यक छैन । भोलि मत गणनालाई सहजता होस भनेर यस्तो निर्णय गरेको हो । विभिन्न सञ्चारमाध्यमबाट कुराहरु आएका छन् । आयोगमा औपचारिक रुपमा यो कुरा आएपछि त्यसमा छलफल हुने भएपनि यो आयोगकै क्षेत्राधिकारको विषय हो ।’
मतपत्रमा हरियो रंग बनाउने आयोगको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले विरोध गरेका थिए । कुनै दल विशेषलाई केन्द्रीत गरेर यस्तो गर्न खोजिएको भन्दै खारेजीको माग गरेका थिए ।












प्रतिक्रिया