
भैरहवा, २५ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको वैशाख ३० मा गर्ने घोषणा गरेसँगै रुपन्देही जिल्लामा जनप्रतिनिधिहरू भने धमाधम दल परिवर्तन तिर लागेका छन् ।
उम्मेदवार बन्नैपर्ने लोभका कारण रुपन्देहीका केही स्थानिय तहका जनप्रतिनिधिहरू नै निर्वाचनको मुखमा दलबदलमा अघि देखिएका छन् ।
एउटा दलबाट निर्वाचन जितेर ५ वर्ष जनप्रतिनिधि भएर बिताएका केही चर्चित नेताहरु अहिले दल परिवर्तनको होडवाजीमा लागेका छन् । उनिहरुको लागि दलबदल बैशाख ३० मा घोषणा गरिएको स्थानिय निर्वाचनको लागि ‘टिकट बर्गेनिङ’ को प्रमुख हत्तियार बनेको छ ।
दल परिवर्तन नौलो कुरा त होइन । पहिले देखिनै चर्चामा रहने केही शीर्ष नेता हरेक निर्वाचनमा राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै आइरहेका छन् ।
तर, यसरी निर्वाचनको मुखमा दलबदल गर्ने नेताहरु जनताको मत र आफूआबद्ध पार्टीको मुद्दासमेत बिर्सेर अवसरको प्राप्तिका लागि राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्नु कति उचित मुख्य प्रश्न यो रहेको छ ।
रुपन्देहीमा हेर्ने हो भने सबैभन्दा पहिले दल बदल्ने जनप्रतिनिधि हुन लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी । चौधरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। अघिल्लो निर्वाचनमा नगरपालिकामा स्वतन्त्र उम्मेदवार भएर विजयी बनेका चौधरीले निर्वाचनमा अवसर खोज्दै जसपामा प्रवेश गरेका हुन् ।
राजनीतिक दल परिवर्तनमा छुटाउनै नहुने नाम हो सम्मरीमाई गाउँपालिका प्रमुख जितेन्द्रनाथ शुक्ला (बब्लु) । शुक्ला माओवादीमा प्रवेश गरे । पार्टी केन्द्रीय कार्यालयमै उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीमा भित्र्याएका थिए । गत निर्वाचनमा फोरमबाट जितेका उनी अहिले यता आफ्नो टिकट सुरक्षित बनाउन आएका हुन् ।
दल बदल्ने श्रृखंलाको पछिल्लो उदाहरण हो रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए ।
त्यस्तै दलबदलका अर्का खेलाडी हुन् ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) । राहुल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।
दलबदल गर्नेमा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि छन् । हरिजन एमालेमा प्रवेश गरेकी छन्। ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्।
यसैगरी एउटै पार्टीमा टिक्न असफल अर्का जनप्रतिनिधि हुन सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तीनाथ यादव (भोला) । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
राजनितिक उद्देश्य, जनता र मुद्दा बिर्सिने नेताहरूले जसरी पनि उम्मेदवार हुन दल बदल्ने परिपाटी बढ्दो छ । राजनीतिक दल बदल्ने र जसरी पनि उम्मेदवार हुने नेताहरूले सिद्धान्तको नभई अवसरको राजनीतिक गर्ने गरेको प्रष्ट रुपमा देखिन्छ । जनताका लागि नभई अवसरका लागि राजनीति गर्न दल बदल्ने नेतालाई स्थिर राख्न कानुन बनाई लागू गर्न जरुरी छ ।












प्रतिक्रिया