
सन् २०१८ मा उत्तर कोरियाले बन्द गरेको पुंग्ये–री आणविक भट्टी पुनः सञ्चालनमा ल्याउन थालेको अमेरिकी विश्लेषकहरूले बताएका छन् । त्यसमा उत्तरले आणविक हतियार र लामो दूरीको क्षेप्यास्त्र परीक्षण थाल्ने सम्भावना छ । तर पुंग्ये–रीलाई परीक्षणका लागि तयार पार्न वर्षौं लाग्ने विश्लेषकहरू बताउँछन् ।
भूउपग्रहीय तस्वीरहरूमा उक्त आणविक भट्टीमा केही दिनयता गतिविधि भइरहेको देखिन्छ । त्यहाँ नयाँ भवन बनेको अनि पुरानो भवनको मर्मत गरिएको पनि पाइएको छ । त्यस्तै त्यहाँ मूढा र काठको धूलो समेत देखिएको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसन स्टडीजका विश्लेषकहरूले बताएका छन् ।
भूउपग्रहीय तस्वीर खिच्ने कम्पनी म्याक्सारले शुक्रवार यी तस्वीरहरू खिचेको हो । उत्तर कोरियाले परीक्षण स्थलको हैसियतका विषयमा निर्णय लिएको संकेत यसबाट पाइन्छ ।
यस परीक्षण स्थललाई पुनः विस्फोट परीक्षणका लागि तयार पारिएको हुन सक्ने सम्भावना छ । उत्तरले केही समयअघि बयान जारी गरेर अस्थायी रूपमा रोकिएका सबै गतिविधि पुनः शुरू गरिने बताएको थियो ।
तर पुंग्ये–रीमा देखिएको नयाँ गतिविधि प्रारम्भिक चरणमा रहेको विश्लेषकहरूको भनाइ छ । उत्तर कोरियाले आणविक विस्फोट गराउन वर्षौं नभए पनि महिनौं लाग्ने उनीहरू बताउँछन् । उक्त परीक्षण स्थल बन्द गरिँदा त्यहाँको सुरुङमा कत्तिको क्षति पुगेको थियो भन्ने कुराले यसको सञ्चालन समयलाई इंगित गर्नेछ ।
उत्तर कोरियाले अर्को स्थानमा आणविक परीक्षण शुरू गर्न सक्ने सम्भावना रहेको पनि उनीहरू बताउँछन् । –एजेन्सी















प्रतिक्रिया