
काठमाडौँ, १८ फागुन । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन् ।
वुधबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिलादेखि भन्दै आएको विषयमा घोषणामा समेटिएको बताए ।
एमसीसी अनुमोदन भएकोमा खुशी व्यक्त गर्दै राजदूत बेरीले घोषणाले एमसीसीको कुनै पनि प्रावधान फेरिन नसक्ने र संसदको घोषणा नेपालको आन्तरिक विषय भएकोले अमेरिकाले संझौता अनुमोदनको रुपमा मात्रै बुझ्ने कुरा पनि प्रष्ट पारेका छन् ।
‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीको भनाई थियो ।
भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए ।
यसअघि राजदूत बेरी एमसीसी पारित गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर धन्यवाद दिएका थिए ।
गृहमन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए ।
भेटमा उनले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको पनि बताए ।












प्रतिक्रिया