
काठमाडौँ, १६ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरेको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको हो ।
सोमबार साँझ वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
प्रदर्शनकारी निरन्तर प्रदर्शन गर्दै तोडफोड गर्न थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो ।
वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
प्रहरीले भीड नियन्त्रणमा लिन ३ दर्जन अश्रुग्यास पनि हानेको थियो ।












प्रतिक्रिया