२ कार्तिक २०८३, सोमबार

लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड प्रथम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १४ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल नेशनल प्याब्सन कास्कीद्वारा आयोजित १४औँ लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुल प्रथम भएको छ । प्रतियोगितामा राइजिङ स्टार एकेडेमी द्वितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज मावि सान्त्वना भएका छन् ।

विजयी समूहलाई वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरी, एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष हेमन्त अधिकारी, कोषाध्यक्ष रत्ना गुरुङ, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको निर्णायकमा मनबहादुर गुरुङ माधव, प्रदीपमान श्रेष्ठ र ऋषिकेश श्रेष्ठ रहनुभएको थियो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नगराई व्यावहारिक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले यो प्रतियोगिता आयोजना गरिएको हो ।

नेशनल प्याब्सन कास्कीले स्थापनाकालदेखि नै शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावककाबीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले रोजगार सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

हालको शिक्षा प्रणाली बेरोजगार जन्माउने थलोजस्तो भएको बताउँदै उहाँले अबको शिक्षा प्रणाली स्वरोजगार वनाउने खालको हुनुपर्नेमा जोड दिनुभयो । निजी विद्यालयसँगसँगै हातोमाले गरेर अगाडि बढ्न नेपाल सरकार सधैँ तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरीलाई दोसल्ला ओढाइ सम्मानपत्रले सम्मान गरिएको थियो । वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरीले निरन्तरता नै सफलताको सिँढी भएकाले निरन्तर लागिपरे सफल भइने बताउनुभयो ।–रासस