बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

फिलिपिन्सविरुद्धको शानदार जितसँगै आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलनजिक

नेपालले अब क्यानडालाई हराउनुपर्ने बाध्यता

दैनिक नेपाल २०७८ फागुन ८ गते ७:२७

काठमाडौं, ८ फागुन । फिलिपिन्ससँग हिजो शनिबार भएको प्रतिस्पर्धामा फराकिलो जितसँगै नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलनजिक पुगेको छ ।

उक्त प्रतिस्पर्धामा नेपालले हिजो फिलिपिन्समाथि १३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको हो ।

प्रतियोगितामा ओपनर कुशल भुर्तेलले शतक बनाउनुका साथै दीपेन्द्रसिंह ऐरीसँग १७१ रनको साझेदारी गरेपछि नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फिलिपिन्सलाई १३६ रनले हराएको हो ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीमा फिलिपिन्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनायो । २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।

नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको थियो । जितसँगै ४ अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा छ । समान २ अंक जोडेका क्याडना र ओमान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लगातार दोस्रो खेलमा पराजित फिलिपिन्स पुछारमा छ ।

शनिबार क्यानडाले ओमानलाई हराएको भए नेपालले सेमिफाइनलमा स्थान पक्का गर्ने थियो । तर, ओमानले क्यानडालाई ९ विकेटले हराएपछि नेपालले अन्तिम खेलसम्म कुर्नुपरेको हो । नेपालले अब अन्तिम खेलमा क्यानडालाई हराउनुपर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित