
काठमाडौँ, १ फागुन । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर संचालनको इजाजत दिएको हो ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेसी(आइभिएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो ।
२०७८ माघ २५ गते सो निवेदन उपर कारवााही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको हो ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।
उनका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आइभिएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ ।
यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभिएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजत प्राप्त थिए । उनले भने, ‘तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभिएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो ।’
नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभिएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ ।
सुविधा सम्पन्न र आधुनिक आइभिएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आइभिएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आइभिएफ सेन्टर पनि हो ।















प्रतिक्रिया