२ कार्तिक २०८३, सोमबार

सद्भाव घट्दै गयो…

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मिल्थे आपसमा घनत्व गहिरो सौन्दर्यशाली थियो
गर्थे जो सुखदुःखमा स्वजनता आलाप राम्रो थियो
छिर्दा दुष्ट यता भयो खलबली षड्यन्त्र चर्को भयो
के आरक्षण हो कुचाल घटिया सद्भाव घट्दै गयो ।१।

मान्छे हुन् महिला यथा पुरुष हो जाने नजाने भयो
अर्काको छलमा डुबेर भरिया सत्ता हतार्ने भयो
स्वार्थी यी भँडुवा नराधम यता कुर्लेर बासे भयो
फाटो पार्न जहाँ लिए कुमति जो सद्भाव घट्दै गयो ।२।

को हो बाहुन खै जसै मगर होस् क्षत्री दमै को भयो
पोडे कर्म बडो छ उच्च बढिया चाहिन्छ कामी त यो
गर्दा कार्य विभागमा मनुजको यी वर्ण सम्मान यो
फैलाए असमान रोग अहिले सद्भाव घट्दै गयो ।३।

हुन्छन् वर्ण त चार यो भुवनका गिल्ला अनौठो भयो
हुन् ती शुद्र सबै झरे धरतीमा संस्कारले ब्रह्म यो
हुन् यी फूल समाजका सबथरी सारा बगैंचा भयो
भाडाका मनुवा भने अलग हो सद्भाव घट्दै गयो ।४।

विध्या ज्ञान भए समान जन हुन् आजन्म आधार यो
सच्चा पात्र कही झुकिन्न छलमा सत्पात्र भन्दैछ यो
भन्ने गर्छ विवेकले सहजमा दुत्कार्छ मान्दैन यो
नारामात्र दिए फुटाल्न शकुनी सद्भाव घट्दै गयो ।५।

भ्रष्टाचार थियो सधैं दनुजको दुष्कर्म बढ्दै थियो
भाषा भेष थिचोमिचो अभरमा जालो पराया थियो
खै संरक्षण यी समग्र दुनिया लाचार चढ्दै गयो
फुर्कन्छन् भरिया थुइक्क हलिया सद्भाव घट्दै गयो ।६।

(गण म स ज स त त गु यति १२ मा)