
काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिबेगर अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित नहुने भएकाले अहिले नै गठबन्धन तोड्न नहुने बताएका छन् ।
अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास व्यक्त गर्दै पौडेलले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन् । ‘एक वर्षभित्र सबै तहको निर्वाचन गराएर मुलुकमा तीनै तहमा नयाँ सरकार आउँछन्, स्थानीय तहको निर्वाचन एकै चरणमा हुने घोषणा गरेको छ । स्थानीय तहको सम्पन्न भएपछि हामी प्रदेश र संघको निर्वाचनको मिति घोषणा गर्छौं । यही सरकारले सबै तहको निर्वाचन गराउँछ,’ उनले भने ।
उनले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने विश्वास दिलाउँदै भने, ‘माओवादी केन्द्र निर्वाचनमा प्रतिस्पर्धा गर्छ, सहमतिमै अहिलेको गठबन्धन कायम गरेर चुनावमा जाने पाँच दलीय गठबन्धनको लक्ष्य र चाहना छ ।’ सरकारमा रहेका गठबन्धनका शक्तिहरु चुनावमा मिल्नुपर्ने उनको जोड छ ।
उनले गठबन्धन नभए पनि आफ्नो दल एक्लै चुनावमा प्रतिस्पर्धा गर्न तयार रहेको समेत स्पष्ट पारेका छन् । ‘यद्यपि गठबन्धनभित्र अहिलेको पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ भन्ने सामान धारणा कायम छ । गठबन्धनमै रहेर हामी चुनावमा जान्छौं,’ उनले भने ।
मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको बताए । उनले भने, ‘एमसीसीबारे अहिलेसम्म संस्थागत निर्णय गरेर कुनै पनि पार्टीले एकमत बनाएका छैनन् । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्छ । अहिले यो विषयमा छलफल चलिरहेको छ ।’















प्रतिक्रिया