
काठमाडौं, २८ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसर कमलपोखरीमा आज बिहीबार सम्पन्न साधारणसभाले अध्यक्ष मनोरञ्जन रमण शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको छ ।
त्यस्तै स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजार रुपैयाँको खर्च समेत सभाले अनुमोदन गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सभामा महालक्ष्मी लाइफको सहायक कम्पनी ल्याउने विषयमा पनि छलफल भएको बताइएको छ । छलफलबाट आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको कम्पनीको भनाइ छ ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।















प्रतिक्रिया