८ कार्तिक २०८३, आइतबार

एमसीसी सम्झौताविरुद्ध १८ दलले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध भोलि संसदबाहिर रहेका १८ वटा राजनीतिक दलले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

संसदबाहिर रहेका १८ वटा राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसीसीको बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । हिजो सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संयुक्त जनआन्दोलनले भोलि दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध र्यालीको रूपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो संख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसीसी–सम्झौतालाई अस्वीकार गर्न, सरकारमाथि सशक्त दबाब दिन देशभक्त नेपालीहरू र विशेष गरी उपत्यकामा रहेका नागरिकहरूलाई अपिल समेत गरिएको छ ।

नेकपा मालेका महासचिव सिपी मैनालीले एमसीसी खारेज गर्नका लागि माघ २६ गते विरोध कार्यक्रम राखिएको बताए । उनले देश बचाउन र देशको सार्वभौममसत्ताको लागि सबै जनता उठ्न पर्ने बताएका छन् । नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक (२०७४ साल भाद्र)मा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको उनको भनाइ छ ।

‘नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने लेखिएको थिएन,’ मैनालीले भने, ‘त्यसलाई १ वर्षपछि संसदबाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँका शीर्ष नेता, कर्मचारीहरूले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडि बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरू नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’

त्यस्तै स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले एमसीसी जबरजस्ती अनुदान भनेर नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाए । कुनै पनि देशबिच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने उनले बताए । नेपालले नेपालमा एमसीसी सम्झौता लागू भए पनि असफल हुने जिकिर गरे ।

एमसीसी पास गर्न समय दिएमा नेपालमा थप रक्तपात हुने पनि उनले चेतावनी दिए । उनले भने, ‘एमसीसी पास गर्न थप समय दिएमा नेपालमा थप रक्तपात हुन्छ त्यसकारण एमसीसी कुनैपनि हालतमा नेपालमा पास गर्न दिन हुँदैन् ।’ यसले नेपालमा मात्र नभएर अमेररिकालाई पनि नोक्सान हुने उनको भनाइ छ ।

नेपालका शीर्ष नेतृत्वले अमेरिकाका सामान्य कर्मचारी स्तरका अधिकारीसँग सम्झौता गर्न लम्पसार परेको आरोप लगाउँदै उनले युवा तथा पुर्वमन्त्रीहरू योगेश भट्टराई तथा रामकुमारी झाँक्रीलाई ‘ब्वाँसो’को संज्ञा दिएका छन् । ‘ब्वाँसोको बच्चा ब्वाँसो नै हुनेरैछन् । उनीहरूको काम देखिहालियो नि ।’ उनले एमसीसीविरुद्ध मतदान गर्न इमेल, फोन नम्बरमार्फत सम्पर्क गरेर जनतालाई अपिल गर्ने बताएका छन् ।

संसद भवनमा सांसदहरूलाई प्रवेश नगर्न नागरिकको तर्फबाट आग्रह गर्ने, त्यो सम्भव नभएमा भौतिक व्यवधान गरेर संसद भवन प्रवेश नगराउन कदम चाल्ने बताए । नेपालले भने, ‘जति पनि नेपालमा एमसीसीसँग आवद्ध भएका एमसीसीका कर्मचारीहरू छन् ती सबैलाई तत्काल जागिर छाड्न आह्वान गर्छौ । यदि उहाँहरू मान्नुभएन भने नागरिकहरूले उहाँहरूलाई जे पनि गर्न सक्छन् त्यसबाट बच्नुहोला ।’

नेकपा (माले), नेपालका लागि नेपाली पाटी, नेकपा (संयुक्त), त्रिमूल नेपाल पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), नेकपा (मालेमा केन्द्र), उन्नत लोकतन्त्र पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, नपालवाद पार्टी, नेकपा (समाजवादी), माओवादी कम्युनिष्ट पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय सष्तििक, एमसीसी विरोधी खारेजी अभियान, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनसमाजवादी मंच नेपाल, प्रगतिशील रूपान्तरण आन्दोलन, सार्थक अभियान नेपाल लगायत विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरूको उक्त आन्दोलनमा एक्यवद्धता जनाएका छन् ।