
डोटी, २२ माघ । बिहिबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भिमदत्त राजमार्ग तथा पहलमानसिंह स्वार राजमार्ग सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती हुँदै आएको छ ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ ।
उता डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाइए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा राजमार्ग सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि उक्त राजमार्ग सञ्चालनमा आउने छ ।
भिमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले केही दिन सञ्चालन गराउन समस्या भएको प्रहरी चौकी गैराले जनाएको छ । उक्त राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा सवारी साधन तथा यात्रु अलपत्र परेका छन् ।
राजमार्ग सञ्चालनका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयवासीले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ । –रासस















प्रतिक्रिया