
कपिलबस्तु, २२ माघ । कपिलबस्तुको शिवराज नगरपालिकाका दुई वटा वडालाई खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।
सफा पानीको अभावका कारण दुषित पानीको प्रयोग गर्नाले झाडापखाला आँउ, हैंजा, टाइफाइडजस्ता रोगहरुको संक्रमण हुन सक्ने भएकाले उक्त वडामा खानेपानीको प्रबन्धसहित खानेपानीयुक्त समुदाय घोषणा गरिएको वडा न ३ का वडाध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए ।
केही महिनाअगाडि कपिलबस्तुको बहादुरगञ्जमा फैलिएको झाडा पखालाले मानिसको ज्यान समेत गएको हुनाले ७०% प्रतिशत रोग दुषित खानेपानीको कारण हुने निष्कर्षसहित ती वडाहरूमा खानेपानीको प्रब्न्ध गरिएको हो ।
समुदायमा सुरक्षित खानेपानी तथा सरसफाईको सुविधा उपलब्ध भएमा सुमुदायको पोषण अवस्था र विद्यालयको उपस्थिति दरमा सुधार हुने शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए । नेपालको संविधानले सुरक्षित खानेपानीको पहुँचलाई सन् २०३० सम्ममा सम्पूर्ण जनसंख्यालाई सुरक्षित सेवा पुर्याउन ‘एक घर एक धारा’ को नीति अवलम्वन गरेको उनको भनाइ छ ।
सुरक्षित खानेपानीयुक्त समुदायले खुल्ला दिशामुक्त क्षेत्रलाई पूर्ण पालना गर्नुपर्ने, खानेपानी संङ्कलनका स्रोतहरु जनावर तथा मानिसको आवत जावत नहुने (जनावर तथा मानिसको दिसा पिसाब नहुने, उपयुक्त तारबार गरिएको आदि) ठाँउ हुनु पर्ने, सम्पूर्ण घरधुरीले सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको वा अन्य स्रोत भए पनि आवश्यक प्रशोधन गरिएको हुनु पर्ने, सम्पूर्ण धरधुरीले खानेपानीलाई सुरक्षित रुपमा भण्डारण गरेको हुनु पर्ने र खानेपानी ईकोली आर्सेनिक तथा फ्लोराइड नभएको मान्यतालाइृ अनुशरण गर्नुपर्ने छ ।
नेपाल सरकारले अगाडि सारेको कार्यक्रमलाई लुम्बिनी प्रदेशले मन्त्रिमण्डलबाट पारित गरी अगाडि बढाइएको कार्यक्रम हो । शिवराज नगरपालिकाअन्तर्गत २ हजार २६१ घरधुरी सुरक्षित खानेपानीयुक्त समुदायभित्र पर्न सफल भएका छन् । शिवराज नगरपालिकाभित्र ७२ जना खानेपानी टेस्टिङ्ग गर्न सक्ने क्षमतायुक्त स्वयम्सेवक समेत तयार गरिएको बताइएको छ ।
नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले सुरक्षित खानेपानी समुदायलाई दीगो बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन् । थारुले विश्व स्वस्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष असुरक्षित खानेपानी सरसफाई तथा फोहोर छोएपछि हात नधुने अनीबानीको कारण झाडापखालाबाट विश्वमा ३ लाख ६१ हजार बालबालिकासहित ८ लाख ४२ हजार जनाको मृत्यु हुने गरेको बताइन् ।
त्यस्तै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले खानेपानीयुक्त समुदाय घोषणा गर्दै यस क्षेत्रका वासिन्दाहरुको सरसफाई र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको बताए । शिवराज नगरपालिकाको पहलमा प्रदेश सरकारको तर्फबाट शिवराज नगरपालिकाको धेरै वडाहरुमा स्वच्छ खानेपानीका लागी खानेपानी योजना अगाडी बढाइएको उनको भनाइ छ ।
अधिकारीले युनिसेफ नेपालको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रम प्रभाकारी रहेको र यसलाई पालिकाले निरन्तरता दिने बताए । दिपक खड्काबाट















प्रतिक्रिया