शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अमेरिकाले थप सेना युरोप पठाउने भएपछि रुसले भन्यो– अमेरिकाको यो ‘विनाशकारी कदम’ हो

दैनिक नेपाल २०७८ माघ २० गते ७:४९

वाशिङ्टन, २० माघ । युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ ।

करिब दुई हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइने छ भने हाल जर्मनीमा रहेका एक हजार सैनिकहरू रोमानियामा खट्ने छन् । उक्त अमेरिकी निर्णयलाई रुसले ‘विनाशकारी’ कदम भनेको बीबीसीले जनाएको छ ।

मस्कोले युक्रेनमाथि हमला गर्ने आफ्नो योजना नभएको बताएको छ तर उसले युक्रेनी सीमा नजिकै करिब एक लाख हतियारधारी सैनिकहरू तैनाथ गरेको छ ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो ।

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागू गर्न असफल भएको आरोप लगाएको छ ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन् । अहिले खटाइन लागेका अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित