शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

नेपालले आज माेरिससविरुद्ध दोस्रो खेल खेल्दै, दुई जना खेलाडी परिवर्तन

दोस्रो प्रतिस्पर्धाका लागि को–को छन् टोलीमा ?

दैनिक नेपाल २०७८ माघ १८ गते ८:२२

काठमाडौं, १८ माघ । माेरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल जितेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार सोही देशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

काठमाडौंस्थित दशरथ रंगशालामा हुने उक्त खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्वघोषित टोलीबाट दुई जना खेलाडी परिवर्तन गरेका छन् । उनले डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङलाई टोलीमा स्थान दिएका छन् ।

पहिलो खेलमा दर्शनको नाम भए पनि सामान्य चोटका कारण उनको स्थानमा प्रशान्त अवस्थी पहिलो खेल बेन्चमा रहेका थिए । दोस्रो खेलमा दर्शन ठिक भएपछि प्रशान्त टोलीमा छैनन् । त्यस्तै चोटका कारण संघर्ष गरिरहेका डिफेन्डर अनन्तको स्थानमा मनिष डाँगी टोलीमा समेटिएका छन् । मनिषले पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

अनन्तको अनुपस्थितिसँगै दोस्रो खेलमा दीनेश राजवंशी र देवेन्द्र तामाङको जोडीले नै सेन्टर डिफेन्स सम्हाल्ने पक्का छ । उनीहरुलाई सुमन अर्याल र गौतम श्रेष्ठले साइड डिफेन्सबाट सहयोग गर्नेछन् । नविन गुरुङ पनि डेब्युको आशासहित टोलीमा समेटिएका छन् ।

दोस्रो प्रतिस्पर्धाका लागि को–को छन् टोलीमा ?

माेरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि गोलरक्षकतर्फ किरण चेम्जोङ, विशाल श्रेष्ठ र सत्रुघन चौधरी छन् भने डिफेन्डरतर्फ गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल र नविन गुरुङ छन् ।

त्यसैगरी मिडफिल्डरतर्फ सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ र पुजन उपरकोटी छन् ।

त्यस्तै फरवार्डतर्फ अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुशील राई, मनिष डाँगी र दर्शन गुरुङलाई टीममा समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित