
लमजुङ, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय उपाध्यक्षमा लमजुङका हेमजङ गुरुङ मनोनित भएका छन् ।
आइतबार पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले गुरुङलाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।
मस्र्याङ्दी गाउँपालिका २, घनपोखरा घर भएका गुरुङले ३ दशक बढी राप्रपामा रहेर राजनीति गरेका छन् ।
संघीय संरचनासंगै राप्रपा गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पाएका उनलाई एकता महाधिवेशनपछि पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
यसअघि राप्रपाको सहमहामन्त्री र सहायक महामन्त्री समेत भइसक्नुभएका उनले संगठनको जिम्मेवारी समेत सम्हालेका छन् ।
उनी वि. सं. २०४७ सालदेखि पार्टीको सदस्यता लिँदै विद्यार्थी राजनीतिमा लागेका थिए ।
राप्रपा युवा संघ जिल्लाको विभिन्न तहको जिम्मेवारी सम्हाल्दै जिल्लाको विभिन्न पदीय हैसियत सम्हालेका उनी २०५१ सालमा लमजुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।
२०५४ सालदेखि २०६३ सालसम्म सम्म २ कार्यकाल राप्रपा लमजुङको अध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०५३ सालमा पहिलोपटक बेंसीसहर नगर विकास समितिको अध्यक्ष बनेका थिए ।
२०५४ सालमै बेंसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भएका उनले बेंसीसहरको सार्वजनिक स्थलमा धारा जडानकार्य अघि सारेका थिए ।












प्रतिक्रिया