८ कार्तिक २०८३, आइतबार

अलपत्र नेपालीको समस्या समाधानबारे यूएईका राजदूतसँग छलफल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई)का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा हिजो बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका छन् ।

अनधिकृत रुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु। ट्राभल्स संचालकहरु, बिचौलिया तथा लामो समयदेखि युएईमा बिभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरूलाई कानुनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरेका हुन् ।

मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुन्जेल त्यहीँ रोजगारीको अवसरका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् ।

त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरेको बताइएको छ ।

राजदूत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने बताएका छन् ।

साथै उनीहरूबीच नेपाल–यूएई संयुक्त समितिको बैठक आयोजना गर्नेबारे पनि छलफल भएको बताइएको छ । ‘‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरू, ट्राभल्स सञ्चालकहरु, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएको र उनीहरुबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्वद्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरु सम्मिलित कार्यदल पनि गठन गरिएको छ ।