
काठमाडौं, १२ माघ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभातर्फ रिक्त हुने १९ पदका लागि आज बुधबार सात वटै प्रदेशमा निर्वाचन हुँदैछ ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेश प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि आज मतदान हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसारर आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ । सम्भवतः मतदानको परिणाम समेत आजै आउने सम्भावना छ । कोरोना संक्रमणलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाका मापदण्डसहित मतदानको व्यवस्था मिलाइसकेको जानकारी दिएको छ ।
निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता छन् । निर्वाचनमा स्थानीय तहका १ हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुने छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका छन् । यस्तै, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ ।















प्रतिक्रिया