
काठमाडौं, १० माघ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको सात वटा ट्राफिक कार्यालयमा मेसिनबाटै ट्राफिक जरीवाना तत्काल तिर्न सकिने व्यवस्था गरेको छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरीवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेसँगै अब चिट काट्नेवित्तिकै राजश्व बुझाउन सकिने भएको हो ।
ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन यस्तो व्यवस्थाको सुरुवात गरिएको ट्राफिक प्रहरी कार्यालयहरूले जानकारी दिएका छन् । यस अघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू भइसकेको र हिजो आइतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, भक्तपुरको गठ्ठाघर, थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबार मार्गमा विस्तार गरेको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोमा आयोजित एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरे ।
उद्घाटनपश्चात ७ वटै ट्राफिक कार्यालयमा मेसिनबाट सेवा शुभारम्भ भएको जनाइएको छ । यो सेवाबाट ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जजरीवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवम् सहज हुने छ ।
‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरीवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई पालो बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने बताइएको छ ।















प्रतिक्रिया