मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू

दैनिक नेपाल २०७८ माघ ८ गते २०:१२

सुर्खेत, ८ माघ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ ।

कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘बार’ प्रणाली तोकिएको बताए ।

उनका अनुसार आइतबार र शुक्रबार लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मङ्गलबार वीरेन्द्रनगर नगरपालिका, सोमबार र मङ्गलबार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।

प्रशासनले बार प्रणाली बमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई पूर्ण खोप लगाएको कार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र स्थानीय तहलाई आग्रह गरेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित