सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

यसरी ७० करोड कमिशन लिने मन्त्री आलेको दाउ

दैनिक नेपाल २०७८ माघ ७ गते १४:४१

काठमाडौँ, ७ माघ । नेपाल वायु सेवा निगम बोर्ड बैठकमा ३ जना सञ्चालकहरुलाई प्रवेश नै नदिइएको खुलासा भएको छ ।

३ जना सञ्चालकहरुले बैठकमा आफूलाई प्रवेश नदिएको बताएका छन् ।

कर्मचारीलाई प्रवेश नदिई निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका अर्बौका योजनाहरु पारित गर्न लागेको आरोप लागेको छ ।

हाल मन्त्रालयमा रहेका महाप्रबन्धक डिमप्रसाद पौडेलसहित सञ्चालक समिति सदस्यहरु ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई निगमको बैठकमा प्रवेश नदिइएको हो । उनीहरुलाई मूल गेटमै कालो ब्यानर टाँगेर भित्र छिर्न नदिई अध्यक्ष अधिकारीले बैठक अघि बढाएका बताइएको छ ।

प्रवेश नपाएका ३ जनाले आफूहरुले इमेलमार्फत सूचना पाए पनि बैठकमा जाँदा मूल गेटमा कालो ब्यानर राखेर प्रवेश नदिइएको बताएका छन् ।

उनीहरुले लिखित ध्यानाकर्षण पत्रमार्फत यस्तो जनाएका छन् ।

यद्यपि निगमले भने बैठक कोरम पुर्याएरै सञ्चालन गरिएको जिकिर गरेको छ ।

बैठकमा विशेषत दुई योजना रहेको बताइएको छ ।

जसमा निगमका बिग्रेका जहाजको इन्जिन बनाउन एमआरओ गर्ने जसको जिम्मा अध्यक्षलाई रहेको छ । ३ अर्ब ५० करोडको यो काममा चिनियाँ कम्पनीले २० प्रतिशत कमिशन दिने भन्दै सकेसम्म छिटै यो पारित गराउने पक्षमा अध्यक्ष अधिकारी रहेको बताइएको छ ।

तर यो विषय अदालतमा विचाराधीन भएको र अन्यले विरोध गरेपछि अध्यक्ष अधिकारीले पारित गराउन सकेनन् ।

त्यस्तै, अर्को विषय भनेको केही गन्तव्यका लागि ‘थर्ड पार्टी एजेन्ट’ नियुक्त गर्ने । अध्यक्ष अधिकारीको नाफामा उडान भईरहेको जापान, मलेसिया र हङकङमा तेस्रो पक्षलाई एजेण्ट नियुक्त गर्ने दाउ छ ।

यी एजेण्डाहरु पर्यटनमन्त्री प्रेम आलेको स्वार्थसँग जोडिएको बताइएको छ ।

स्रोतका अनुसार मन्त्री आले आफैँ चिनियाँ कम्पनीलाई एमआरओको जिम्मा दिँदा ३ अर्ब ५० करोडको २० प्रतिशत अर्थात् ७० करोड कमिशन खाने दाउमा रहेको बताइएको छ ।

बैठकमा प्रवेश नदिइएका ३ जना सदस्यहरु यी दुवै एजेण्डाका विरुद्ध रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित