आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ट्राफिक प्रहरीले शुरू गर्‍यो अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान

दैनिक नेपाल २०७८ माघ ७ गते ८:५३

काठमाडौं, ७ माघ । ट्राफिक प्रहरीले उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनका चालक सह–चालक तथा यात्रुहरूलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारीसाधनहरूमा सूचनामुलक स्टिकर टाँस गरेको छ ।

काठमाडौं मलअगाडि गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो ।

ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए–नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाइबुझाइ गरी मास्क समेत वितरण गरेको छ । स्वस्फूर्त रुपमा मास्कको प्रयोग गर्ने चालक सह–चालकहरू तथा यात्रुलाई सचेतना अभिवृद्धि गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनहरुमा ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने पन्ध्र हजार थान स्टिकर टाँस गरिएको छ ।

अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरूलाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित