आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भूमाफियाले अरनिको राजमार्गसँगैको १०० रोपनी जग्गा हडपेको भन्दै संरक्षणको माग

दैनिक नेपाल २०७८ माघ ७ गते ७:५०

काठमाडौं, ७ माघ । अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करीब १०० रोपनी सार्वजनिक जग्गा भूमाफियाले हडपेका छन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका–९ स्थित उक्त जग्गा हडपिएको भन्दै नागरिक सरोकार समितिले संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर समितिले ग्रिन हाउजिङ प्रालिले सूर्यबिनायक नगरपालिका–९ का वडा अध्यक्ष उपेन्द्रराज केसीसँग गोप्य सम्झौता गरी सार्वजनिक जग्गा कब्जा गरेको खुलासा गरेका छ ।

समितिले व्यक्तिहरूको नाममा रहेको ७३ रोपनी र नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा हाउजिङ कम्पनीले लिएको उल्लेख गरेको छ । वडा कार्यालयले गरेको गैरकानुनी सम्झौता र हाउजिङले नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिंचाई, चरिचरण र वनजंगलमाथि गरेको हस्तक्षेपको स्थानीय जनता र नागरिक सरोकार मूल समितिबाट विरोध हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा समितिका सदस्य पशुपति खत्रीले हाउजिङ कम्पनीले वडा कार्यालयसँगको मिलेमतोमा १०० रोपनी भन्दा बढी जग्गा हाउजिङले कब्जा गरेको दाबी गरे । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको भए पनि स्थानीय तहहरूले नै हाउजिङसँग गोप्य मिलेमतो गरेको उनको आरोप छ ।

खत्रीले भने, ‘यो विषयमा सम्बन्धित स्थानमा कुरा राख्दा कुनै पनि हिसाबले सरकारी जग्गा हिनामिना हुन दिदैनौं भन्ने तर काम चाहिँ रोक्न कसैले पनि सकेनन् ।’ जग्गा कब्जामा राजनीतिक पार्टीका नेताहरू नै हाउजिङ कम्पनीसँग साँठगाँठ गरेको समाचार बाहिर आएको उनले सुनाए ।

सबै गाउँलेहरू एकीकृत भएर सार्वजनिक जग्गा, सम्पत्तिको रक्षा गर्न नागरिक समिति गठन गरेको उनले जानकारी दिए । उनले भने, ‘आज हामी सरकारी सम्पत्ति सुरक्षा र सम्पत्ति हिनामिना नहोस् भनेर यहाँसम्म आएका छौ ।’ सरकारी सम्पत्ति चाहिँ सरकारकै हुने तर सबै भौतिक संरचना चाहिँ कम्पनीको अनुकुल निर्माण गर्न नहुने उनको तर्क छ ।

सदस्य खत्रीले अबको केही दिनमा पनि हाउजिङको काम नरोकिएमा कानुनी रूपमा अगाडि बढ्ने चेतावनी दिएका छन् । यसको बारेमा वकिलसँग पनि कुरा भइरहेको उनले जानकारी दिए । प्रधानमन्त्री कार्यालयमा गएर कुरा राख्दा समेत सुनुवाई नभएको भन्दै उनले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले तत्काल काम रोक्ने आश्वासन दिइए पनि काम नरोकिएकोमा गुनासो गरे ।

प्रधानमन्त्री कार्यालयदेखि वडासम्म जाँदा पनि काम नभएकोमा थकित हुँदै उनले भने, ‘पैसाको अगाडि कसैको पनि केही नलाग्दो रहेछ । पैसासँग सबै डराउने रैछन्, सकिँदैन रहेछ ।’ कलम बलियो हुने भन्दै आज पत्रकारको सहायता लिन आएको उनले बताए । यो विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म उजुरी पनि परेको छ । समितिले प्रमाणित दस्तावेजहरूसहित जग्गा कब्जा गरिएको भन्दै तत्काल कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित