
स्याङ्जा, ६ माघ । स्याङ्जाको चापाकोटमा कृषि क्याम्पस सञ्चालनका लागि सर्वपक्षीय छलफल भएको छ ।
कृषि क्याम्पस सञ्चालनको लागि स्वीकृती पाइसकेको भएपनि सञ्चालन हुन नसकेपछि पूर्वमन्त्री तथा एमाले नेतृ पद्माकुमारी अर्यालकाे पहलमा सर्वपक्षीय बैठक आयोजना गरिएको डा. बुद्धिमान श्रेष्ठले बताए ।
जुममार्फत आयोजित बैठकमा नेतृ अर्यालले चापाकोट कृषि क्याम्पस सञ्चालनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने तत्कालीन शिक्षा सचिव सान्ताबहादुर श्रेष्ठलाई स्मरण गर्दै कलेज सञ्चालनको विषय धेरै अगाडि बढिसकेको बताइन् ।
नेतृ अर्यालले मापदण्ड अनुसारको जग्गा प्राप्त भइसकेको र भौतिक पूर्वाधार लगायत अन्य विषयहरुको व्यवस्थापनको लागि सबै पक्ष मिलेर जानुपर्ने बताइन् ।
क्याम्पस प्रमुख वा फोकल पर्सन तोकेर अगाडि बढ्ने विषयमा विश्वविद्यालयको भूमिकाको अपेक्षा गर्दै नेतृ अर्यालले विश्वविद्यालयलाई आवश्यकताको एस्टिमेट उपलब्ध गराउन अनुरोध गरिन् ।
बैठकमा सहभागी भएका कृषि तथा वन विश्वविद्यालयका भिसी पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयले पछिल्लो समयमा मुलुकको धेरै ठाउँमा विश्वविद्यालयले कलेज खोलेको तर कलेज खोलिसकेपछि त्यसलाई सञ्चालन गर्नको लागि सहयोग नपाएको गुनासो गरे ।
सबै तहको सरकार मिल्यो भने काम गर्न सकिने बताउँदै भिसी रेग्मीले त्यसको लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।
उनका अनुसार कृषि कलेज भनेको पढ्ने र पढाउने मात्रै नभएर टिचिङ, रिसर्च र एक्सेन्टेन्सनको रुपमा हुन्छ ।
तरकारी खेतिको लागि, पशुपालन फार्मको लागि, अन्नबालीको लागि, आदिको लागि आवश्यकता अनुसारको जग्गा चाहिन्छ ।
भिसी रेग्मीले अहिले यातायातको सुविधा भएकाले फरक–फरक फार्म एक–एक घण्टाको फरकमा भएपनि हुने बताउँदै जग्गाको विषय महत्वपुर्ण भएको बताए ।
चापाकोटमा कृषि कलेज स्थापनाको लागि आफुहरु सकारात्मक रहेको बताउँदै उनले चापाकोटमा कृषि कलेज सञ्चालनको लागि चाहिने कुराको सूची आफुहरुले उपलब्ध गराउने बताए ।
त्यस्तै, मिटिङमा कृषि तथा वन विश्वविद्यालयकी रजिष्टार सारदा थपलियाले कृषि कलेज स्थापनाको लागि न्यूनतम १ सय रोपनी जग्गा, ३० जना शिक्षक, ६५ जना कर्मचारी आवश्यक पर्ने बताइन् ।
हतारमा कलेज खोल्ने र क्वालिटीमा कम्प्रोमाइज गर्ने अवस्था सिर्जना हुननहुने बताउँदै रजिष्टार थपलियाले कलेज सञ्चालनको लागि प्र्रतिवर्ष सञ्चालन खर्च २ करोड र १० वर्षमा ५० करोड पुर्वाधार खर्च लाग्ने बताइन् ।
ति खर्चहरुको स्रोत सुनिश्चितता सबै मिलेर गर्नुपर्ने रजिष्टार थपलियाको धारणा थियो ।
त्यस्तै, बैैठकमा नेकपा(एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले आफ्नो धारणा राख्दै कलेज सञ्चालन गर्न ढिलो भएको बताएका थिए । गैरेले कलेज सञ्चालनको लागि विषयवस्तुलाई बोक्दै आएका स्थानीयको नेतृत्वमा तत्काल ठोस टिम निर्माण गरेर ठोस तालिका निर्माण गरेर जानुपर्ने बताएका थिए ।
बैठकमा स्थानियबासी तर्फबाट सहसचिवद्वय थानप्रसाद पंगेनी र महेश भट्टराइको पनि सहभागीता रहेको थियो ।
उनीहरुले आफ््नो ठाउँको विकासको निमित्त आफूहरुको सँधै नै सकरात्मक भूमिका रहने बताएका थिए ।
बैठकमा एमालेका केन्द्रीय सदस्य किशोर बिक्रम मल्ल, जगदिश डोटेल, विष्णुप्रसाद अर्याल, आदिले पनि आफ्नो धारणा राखेका थिए ।
डा. श्रेष्ठको अगुवाईमा भएको जुम बैठकले लामो समयदेखि चर्चामा रहेको तर सञ्चालनमा ढिलाई हुँदै आएको चापाकोट कृषि कलेजको विषयलाई तत्काल तालिकाबद्ध रुपमा अगाडि बढाउन पूर्वमन्त्री तथा एमाले नेतृ पद्माकुमारी अर्यालले विश्वविद्यालय र सम्बद्ध सरोकारवालाको भूमिकालाई निष्कर्षको रुपमा सुनाएकी थिइन् ।












प्रतिक्रिया