
काठमाडौं, ६ माघ । स्थानीय तह निर्वाचनको मितिमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक आज बिहीबार बस्दैछ ।
आगमी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई दृष्टिगत गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलबार पनि सत्तारुढ दलहरूको बैठक बसेको थियो । तर, सो बैठकले कुनै निष्कर्ष दिन सकेन ।
स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्ने स्रवैधानिक दबाबमा सरकार परेपछि मिति टुंगो लगाउन आज बिहीबार पुनः बैठक बस्न लागेको हो ।
यसैबीच सरकारले वैशाख १४ गते निर्वाचन गर्न नसक्ने परिस्थिति बने वैशाख २२ र २८ गतेको मिति तय गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिने भएको छ ।
यसअघि दिइएको वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ वैशाखको मिति प्रस्ताव गर्ने तयारी गरेको आयोगले बताएको छ ।
गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ वैशाख उपयुक्त हुने धारणा राखेको थियो ।
आयोगका अनुसार वैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि वैशाख २७ र २८ गतेको मिति प्रस्ताव गर्न लागिएको छ ।















प्रतिक्रिया