शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सुपर कप च्याम्पियन बन्यो साविक विजेता रियल म्याड्रिड

दैनिक नेपाल २०७८ माघ ३ गते ७:०५

काठमाडौं, ३ माघ । साविक विजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ ।

१० जना खेलाडीमा समेटिएको रियलले २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेशनल स्टेडियममा आइतबार राति भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको सुरुवातदेखि नै बिल्वाओलाई दबाबमा राखेको रियलले गोलका लागि पहिलो हाफको अन्तिम समय पर्खनु परेको थियो । ३८औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

५२औं मिनेटमा कप्तान करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाकै प्रहारलाई पेनाल्टी बक्समा यारेको हातमा लागेपछि रेफ्रीले भस्एआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थियो ।

८७औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाइन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएको थियो । त्यसमै प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिदै बचाए ।

सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औं पटक सुपर कप च्याम्पियन बनेको हो । क्याटलान क्लब बार्सिलोनाले सर्वाधिक १३ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित