१ कार्तिक २०८३, शनिबार

पशुपतिपछि जनकपुरको धर्मशालालाई पनि होटेल बनाइँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । तीर्थालुको बसाइ सहज बनाउने उद्देश्यसहित निर्माण गरिएका धर्मशालामा निजी कम्पनीहरूले आँखा लगाउने क्रम बढेको छ ।

भारतले पशुपतिमा बनाइदिएको धर्मशाला बतास अर्गनाइजेसनले हत्याएको दुई वर्ष नबित्दै जनकपुरस्थित धर्मशाला ‘तिरुमाला तिरुपती देवस्थानम् यात्रीनिवास’ द पिक हस्पिटालिटी प्रालिले २० वर्षका लागि लिजमा लिएर होटेल बनाउँदै छ । यो त्यही कम्पनी हो, जसले पशुपतिको धर्मशालामा बतासले चलाएको होटेलको व्यवस्थापन हेर्ने गर्छ ।

जनकपुरको बाह्रबिघानजिकै रहेको यात्रीनिवास धर्मशाला दक्षिण भारतको तिरुमाला तिरुपती बालाजी ट्रस्टले बनाइदिएको होे । जानकी मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज वासका धर्मशाला बनाइएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पदाधिकारीसँगको मिलेमतोमा पिक हस्पिटालिटीले एक बिघा जग्गा र त्यसमा रहेको तीनतले धर्मशाला वार्षिक ३० लाख १२ हजार तिर्ने गरी ठेक्कामा लिएको हो । परिषद् र पिक हस्पिटालिटीबीच १० वैशाख ०७८ मा २३ बुँदे सम्झौता भएको हो ।

सम्झौताअनुसार पिक हस्पिटालिटीले यात्रीनिवासको नाम नै हटाएर होटेल चलाउनेछ । अहिले मर्मतसम्भार भन्दै २१ कोठे भवनको पहिचानसमेत मेटिने गरी पुराना संरचना भत्काउँदै नयाँ बनाइरहेको छ । फागुनदेखि होटेल सञ्चालन गर्ने तयारीअनुसार धर्मशालाका भित्तादेखि कोठाहरू भत्काइँदै छन् ।

ठेक्का सम्झौता हुँदा परिषद् अध्यक्ष शालिग्राम सिंह थिए । तर, ठेक्का दिने निर्णय र सम्झौतामा आफ्नो संलग्नता नभएको उनको भनाई छ । ‘मेरै कार्यकालमा ठेक्का लागे पनि मलाई त्यसबारे कुनै जानकारी छैन । कसलाई कति वर्षका लागि कति बजेटमा ठेक्का दिइएको छ, त्यो पनि थाहा छैन,’ उनले भने, ‘यो सबै गर्ने कार्यकारी निर्देशक बलराम ठाकुर हुन् ।’ सिंह अघिल्लो साता २७ पुसमा मात्रै परिषद् अध्यक्षबाट अवकाश भएका छन् ।

धर्मशाला रहेको जग्गा महोत्तरीको मठियानी मठको नाममा छ । मठले परिषद्लाई लिजमा दिएको हो । परिषद्को सञ्चालक समितिको बोर्ड सदस्य मठका प्रतिनिधि पनि छन् । तर, ठेक्का दिँदा कुनै पनि निर्णय प्रक्रियामा मठका प्रतिनिधिलाई खबर नै नगरिएको मठका महन्थ जगरनाथ दासले बताए । ‘हामीलाई जानकारीसमेत नगराई त्यो जग्गा कसैलाई होटेल बनाउन ठेक्का दिनु सरासर गलत हो । त्यसको म कडा विरोध गर्छु । त्यो जग्गा मठको सम्पत्ति हो । परिषद्ले निर्णय फिर्ता लिएन भने मठले आफ्नो जग्गा खाली गराउन सक्छ ।’

तत्कालीन अध्यक्ष सिंहले धर्मशाला घाटामा गएकाले गत वर्ष राम्रो ठेकेदारलाई ठेक्कामा लगाउने प्रस्ताव भने आफूले राखेको बताए । त्यसका लागि परिषद् सञ्चालक समितिको बैठक बसेर सुझाव समिति गठन गरे पनि समितिले सुझाव नदिँदै कार्यकारी निर्देशक ठाकुरले बोलपत्र आह्वान गरेर ठेक्का लगाएको बताए ।

‘कस्तो कम्पनीलाई कतिमा कसरी ठेक्का लगाउने विषयमा सुझाव दिन मेरै नेतृत्वमा सुझाव समिति गठन भएको थियो । तर, हामीले सुझाव नदिँदै ठेक्का लगाउने काम भयो ।’ परिषद् सञ्चालक समितिको बैठक १ र ८ पुस ०७७ मा बसेको थियो । निर्णयमा सञ्चालक समितिका ३२ मध्ये १८ सदस्यले मात्रै हस्ताक्षर गरेका छन् ।

सुझाव समिति सदस्यमा बलवा नगरपालिकाका मेयर विनोद यादव र चार्टर्ड एकाउन्टेन्ट मनोजकुमार साह सदस्य थिए । समितिलाई सुझाव प्रतिवेदन बुझाउन ३५ दिनको म्याद दिइएको थियो । तर, प्रतिवेदन नआउँदै १२ फागुन ०७७ मा कार्यकारी निर्देशक ठाकुरले धर्मशाला ठेक्कामा लगाउन बोलपत्र आह्वान गरे ।

गोरखापत्र दैनिकमा सूचना आएपछि करिब दर्जनजति ठेकेदारले फारम भर्न परिषद् कार्यालय पुगेका थिए । तर, कुनै सरकारी धर्मशाला कम्तीमा दुई वर्षसम्म सञ्चालन गरेको अनुभव कम्पनीले मात्रै आवेदन दिन पाउने प्रावधान राखिएकाले तीनवटा फर्मले मात्रै टेन्डर दर्ता गराउन पाए । पिक हस्पिटालिटीले ठेक्का पायो । अन्य कम्पनीको नाम गोप्य राखिएको छ ।

स्रोतका अनुसार तीनवटै कम्पनीले एक–दुई हजार तल–माथि कबुल गरेर आवेदन दिएका थिए । त्यसकारण यसमा मिलेमतोको आशंका गरिएको छ । पिक हस्पिटालिटीले टेन्डर पाएको सूचना २० चैत ०७७ मा सार्वजनिक गरिएको थियो, जसमा प्रतिस्पर्धी दुई फर्मको नाम उल्लेख गरिएको थिएन, आजको नयाँ पत्रिका दैनिकमा हदिश खुद्दारले समाचार लेखेका छन् ।

समाचार सरोकारवाला पक्षलाई नै छलेर यसरी सुम्पियो धर्मशाला, धर्मशालाको पहिचान मेटिने गरी संरचना बनाइँदै, धर्मशाला भटाभट भत्काएर मनपरी संरचना बनाउँदै, आफूखुसी अर्को कम्पनीलाई ठेक्का लगाउन सक्ने गरी सम्झौता, २० वर्षपछि पनि आफ्नै अधीनमा राख्न सक्ने गरी सम्झौता, धर्मशालामा मासु र मदिरा निषेध छ, होटेल बनेपछि रोक नहुने र सम्झौता अनुसारको भाडा नतिरेकोलगायत विषयलाई समावेश गरिएको छ ।