शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स विश्व जुनियर वरीयताको शीर्षस्थानमा

दैनिक नेपाल २०७८ पुष २९ गते ८:२०

काठमाडौं, २९ पुस । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा उक्लिएका छन् ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए ।

सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो । विश्व जुनियर वरीयताको शीर्ष वरियताभित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो ।

यसअघि प्रिन्स तेस्रो, सातौं र अहिले ११औं स्थानमा रहेका थिए । प्रिन्सको वरीयतामा १० हजार ४ सय अंक छ । कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा उनको अंकमा पनि परिवर्तन भएको छैन ।

विश्व वरीयतामा शीर्ष स्थानमा पुगेसँगै प्रिन्सले यसलाई कायम राख्न सकेमा आसन्न जुनियर विश्व च्याम्पियनसिपमा आकर्षणको केन्द्र बन्नेछन् । प्रिन्सपछि नेपालबाट वरीयतामा परेका नरेन्द्र बम ४६ औं स्थानमा छन् । महिलातर्फ रसिला महर्जन १९ औं वरीयतामा छिन् । जुनियर महिला वरीयता पहिलोपल्ट निकालिएको हो ।

१७ वर्षीय प्रिन्स सन् २०१८ मा दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा यू–१५ को उपाधि जितेको अर्को वर्ष जुनियर विश्व वरीयतामा समावेश भएका थिए । कोरोना महामारी सुरु हुनुअघिसम्म नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनी पछिल्लोपल्ट सन् २०१९ अप्रिलमा जर्मन इन्टरनेसनल सिरिजको क्वार्टरफाइनलसम्म पुगेका थिए ।

वरीयता प्रवेशपछि प्रिन्सको प्रदर्शन श्रृङ्खला

२०१९ अप्रिल : योनेक्स रोजा जुनियर इन्टरनेसनल सिरिज– राउन्ड ६४

२०१९ अप्रिल/मे : पेम्बानगुनान जय राय जुनियर ग्रान्ड प्रिम्स– राउन्ड ६४

२०१९ जुलाई : ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप– राउन्ड ३२

२०१९ अगस्ट/सेप्टेम्बर : इन्डिया जुनियर इन्टरनेसनल सिरिज– राउन्ड ३२

२०१९ सेप्टेम्बर : दुबई इन्टरनेसनल सिरिज– स्वर्ण

२०१९ सेप्टेम्बर : अन्नपूर्ण नेपाल इन्टरनेसनल सिरिज– सेमिफाइनल

२०१९ नोभेम्बर : योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज– राउन्ड ६४

२०१९ डिसेम्बर : योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल

२०२० जनवरी : प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिज– फाइनल

२०२० फेब्रुअरी/मार्च : डच जुनियर इन्टरनेसनल सिरिज– प्रिक्वार्टरफाइनल

२०२० मार्च : जर्मन जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल

प्रतिक्रिया
सम्बन्धित