९ कार्तिक २०८३, सोमबार

नेपाली युवालाई फ्रान्समा रोजगारी दिलाउनेबारे राजदूत गिल्ससँग छलफल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा हिजो मंगलबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वास समेत व्यक्त गरेका छन् ।

सो अवसरमा राजदूत बुर्बाओलेनेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सृजना हुनसक्ने बताए । साथै कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुने बताए । राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यावसायिक तालिमको राम्रो प्रवन्ध हुनुपर्ने पनि बताएका छन् ।

साथै उनले भेटका अवसरमा फ्रान्समा फ्रान्सेली नागरिक सरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने बताएका छन् ।

सन् १९४९ अप्रिल २० मा नेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो । दक्षिण एसियामा फ्रान्सको पुरानो कुटनीतिक सम्बन्ध कायम भएको मुलुक हुनु नेपालको लागि खुसीको कुरा भएको मन्त्री श्रेष्ठले बताएका छन् ।

वैदेशिक रोजगारीलाई उपलब्धिमूलक बनाउन आकर्षक तलब सुविधासहितका रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान गर्न मन्त्री श्रेष्ठले विभिन्न मुलुकसँग छलफल गर्दै आएको बताएका छन् ।