९ कार्तिक २०८३, सोमबार

सञ्चारकर्मीको समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २१ पुस । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सञ्चार क्षेत्रको समग्र विकास र सञ्चारकर्मीहरूको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सञ्चार क्षेत्रका लागि प्रदेश सरकार सबैले अनुभुत गर्ने गरी कार्ययोजना निर्माणको क्रममा रहेको समेत उनले बताएका छन् । प्रदेश सरकारको सफलतामा सञ्चार क्षेत्रको रचनात्मक भूमिका अपेक्षित रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको तथ्यलाई आत्मसात गर्दै प्रदेश सरकार सञ्चार क्षेत्रसँगको सहकार्यको पाटोलाई मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् ।

हिजो मङ्गलबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको १० बुँदे मागपत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशका सबै जिल्लामा सूचना केन्द्र स्थापनाको कामलाई तत्काल अघि बढाउने, हेटौंडामा पत्रकार महासंघको प्रदेश कार्यालय निर्माणको प्रकृया सुरु गर्ने, सबै पत्रकारहरूलाई बीमाको दायरामा समेट्ने र समस्याग्रस्त सञ्चारमाध्यमको दीगोपनाका लागि आवश्यक नीति तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसक्रममा मुख्यमन्त्री पाण्डेले सरकार र सञ्चार क्षेत्र दुबैले एक–अर्काप्रति अपनत्वबोध गर्नसक्ने अवस्था निर्माणका लागि दुबै पक्ष जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

त्यसक्रममा पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटा, उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारुमगरले बागमती प्रदेश भित्रका सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको समस्या अवगत गराउँदै समस्या समाधानका लागि १० बुँदे मागपत्र प्रस्तुत गरेका थिए ।

मागपत्रमा सञ्चारकर्मीहरूका लागि बिधागत पत्रकारिता तालिम, छात्रवृत्ति, बिरामी पत्रकारहरूको उपचार, चितवन र काभ्रेमा तालिम केन्द्रको स्थापना, कोरोनाका कारण समस्यामा रहेका सञ्चारमाध्यमहरूलाई सहयोग, नीतिगत विज्ञापन प्रणालीको व्यवस्थापनलगायत मागहरू समाविष्ट रहेका छन् ।