
काठमाडौं, २० पुस । समानता अभियान नेपालले दलितलगायत सबै समुदायका मानिसले गुरुकुलमा अध्ययन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले देशभरका संस्कृत गुरुकुलमा दलित, आदिवासी, जनजाति, खस क्षेत्रीलगायत सबै जातजातिहरुलाई गुरुकुलमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको हो ।
सबैका लागि शिक्षा भन्ने नेपालको संविधानको मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हकलगायतका हकहरुको व्यवस्थानुसार अधिकार सुनिश्चित गर्न अभियानको माग छ । ‘गुरुकुलमा जातीय विभेद अन्त्य गरौं, सबैले वेद पुराण पढुन्’ भन्ने अभियानको नारा छ ।
पत्रकार सम्मेलनमा संयोजक चन्द्रकान्त पौडेलले जातीय प्रथा अन्त्य गरांै र गुरुकुलमा सबैले पढौं भनेर लामो समयदेखि भन्दै आए पनि अब भने खुलेरै आफ्नो संस्था अघि बढ्न चाहेको बताए । वर्ण व्यवस्था कर्मको आधारमा हुने उनले धारणा राखे । भागवत गीतामा पनि गुण र कर्मको आधारमा वर्ण व्यवस्था गरिएको उनले सुनाउँदै उनले भने, ‘गुण र कामको वर्गिकरणको आधारमा वर्ण व्यवस्था गरिएको हो ।’
समाजमा धर्मगुरु, पण्डितलाई एउटा श्रद्धाको दृष्टिले हेर्ने भन्दै उनले त्यो श्रद्धा सबै जातले पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘गुरुकुलमा सबै जातजातिले पढ्न पाउनुपर्छ । सबै जातीलाई समाजले श्रद्धाले हेर्न पाउनुपर्छ ।’ संस्कृत गुरुकुलमा आधारभुत संस्कृत शिक्षा पढ्न नपाएका कारण नेपालको ती विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नबाट दलित, आदिवासी, जनजाती तथा खस क्षेत्रीहरु पनि बञ्चित भएको उनको भनाइ छ ।















प्रतिक्रिया